काठमाडौं। नेपाल खेलकुद महासंघले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनलाई विभिन्न सुझावहरू पेस गरेको छ। महासंघका अध्यक्ष कमरेड पर्शुराम बस्नेतको नेतृत्वमा गएको टोलीले मंगलबार काठमाडौं च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका महासचिव कमरेड शंकर पोखरेललाई औपचारिक रूपमा सुझाव पेस गरेको हो।
सुझाव पेस गर्ने क्रममा महासंघले वर्तमान राजनीतिक परिदृश्यमा “एमालेबिनाको मुलुक र अध्यक्ष केपी शर्मा ओलीबिनाको एमालेको कल्पना नै गर्न नसकिने” उल्लेख गरेको छ। साथै, केन्द्रीय कमिटीले निर्णय गरिसकेको दुई कार्यकालको सीमा र ७० वर्षे उमेरहद हटाउने प्रस्तावलाई विधान संशोधनमार्फत् औपचारिक मान्यता दिनुपर्ने सुझाव राखिएको छ।
त्यस्तै, महासंघले एमाले अध्यक्ष ओलीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानका परिकल्पनाकार र राष्ट्रवादी राजनेता भनेर सम्बोधन गर्दै २०८४ सालको आमनिर्वाचनमा ओलीकै नेतृत्वमा एकल बहुमतको सरकार निर्माण हुने विश्वास प्रकट गरेको छ।
साथै, हालै चर्चामा रहेको पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक पुनरागमनबारे महासंघले टिप्पणी गर्दै, राष्ट्राध्यक्षको गरिमामय पदमा रहेकी व्यक्तिले पुनः पार्टी राजनीतिमा फर्किनु उपयुक्त नहुने उल्लेख गरेको छ। महासंघले उहाँलाई सम्मानित भूमिकामै रहने सुझावसमेत दिएको छ।
यसैगरी, महासंघले विधान महाधिवेशनबाट खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै केही महत्वपूर्ण नीति तथा कार्यक्रमहरू समावेश गर्न आग्रह गरेको छ। जसअनुसार,
“एक पालिका, एक सामुदायिक खेल मैदान” कार्यक्रम,
“एक प्रदेश, एक आधुनिक रंगशाला” निर्माण,
खेलाडीलाई छात्रवृत्ति तथा निःशुल्क बीमा,
अपांगता–मैत्री खेलकुद कम्प्लेक्सको निर्माण
लगायतका योजना पार्टीको दस्तावेज र घोषणापत्रमा समावेश गर्नुपर्ने सुझाव महासंघ अध्यक्ष बस्नेतले महासचिव पोखरेललाई औपचारिक रूपमा पेस गर्नुभएको हो।