पोखरा, गण्डकी — नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन ऐतिहासिक रूपमा आज भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
अधिवेशनको प्रमुख अतिथिका रूपमा महासंघका केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेत रहनु भएको थियो। प्रमुख वक्ता नेकपा एमालेका श्रद्धेय उपमहासचिव तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री कमरेड पृथ्वी सुब्बा गुरुङ हुनुहुन्थ्यो। विशिष्ट अतिथि पार्टी स्थायी कमिटीका सदस्य तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी, महासंघका उपाध्यक्ष कमरेड दिपेन्द्र प्रसाद दाहाल, कमरेड तिरनदाज गौतम, महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामा, सचिव विष्णु पुनलगायतका महासंघका केन्द्रीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यससँगै पार्टी गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष तथा विभिन्न तहका नेताहरू, प्रदेशस्तरीय खेल संघका पदाधिकारी, खेलप्रेमी तथा शुभेच्छुकहरूको बाक्लो सहभागिताले उद्घाटन सत्रलाई ऐतिहासिक बनाएको छ।
वक्ताहरूले खेलकुदलाई राष्ट्रिय एकता, अनुशासन र युवाको भविष्यसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै महासंघले पछिल्ला दिनमा देखाएको क्रियाशीलताको प्रशंसा गर्नुभयो। साथै, अधिवेशनमार्फत प्रदेशमा खेलकुदको दिगो विकास र खेलाडीहरूको अधिकार सुनिश्चित गर्न ठोस एजेन्डा तय हुने विश्वास व्यक्त गरिएको छ।